बचनको चोट, मनको घाउ
यस उखानको अर्थ यो हो कि कसैको नराम्रो बोली र बचनले मनमा चोट पुग्छ । जसरी छुराको प्रहारले व्यक्तिलाई भौतिक रुपमा चोट पुग्छ र घाउ बन्छ त्यसरी नै यदि कसैले अपशब्दहरुको प्रयोगले कसैमाथि प्रहार गर्छ भने त्यसको घाउ भौतिक रुपमा नदेखिएपनि मनमा त्यसले गहिरो चोट पुर्याउँदछ ।
अल्लाहका नबी (स.) को भनाई छ कि जसले आफ्नो जिब्रोमाथि नियन्त्रण गर्ने वचन दिन्छ भने उसलाई म स्वर्गको वचन दिन्छु । यो यस कारणले हो कि मानिसले आफ्नो बोली र वचनबाट अर्को मानिसलाई चोट पुर्याइरहेको हुन्छ, आफ्नो बोलीले अरुको कुरा काटेको हुन्छ, शब्दले नै एकार्काबीच शत्रुता कायम गरिदिन्छ । त्यसैले एकार्काको कुरा काट्नुलाई कुरआनले गम्भीर अपराध र पापको संज्ञा दिएको छ । यसर्थ बोलीमाथि नियन्त्रण राख्नु एकदम जरुरी हुन्छ ।
रिसको अवस्थामा पनि मानिसले नचाहदा–चाहदैपनि असभ्य बोलीको प्रयोग गरी अरुको हृदयमा ठूलो आघात पु¥याउँछ र यसले ठूलो झगडाको रुप लिन्छ । अल्लाहका नबी (स.) आदेश दिनुभयो कि जब तिमीलाई रिस उठ्छ तब त्यसमाथि नियन्त्रण राखि चुप लाग्नुपर्छ र अल्लाहको शरण माग्नुपर्छ । सबैभन्दा शक्तिशाली व्यक्ति त्यो हो जसले रिस उठेको बेला आफूमाथि नियन्त्रण राख्छ र आफ्नो बोली र हातले कसैलाई हानी पुर्याउँदैन ।
बोलीमाथि नियन्त्रण आस्थाको एउटा अंश हो । मुहम्मद (स.) ले भन्नुभयो कि जसले अल्लाह र आखिरतमाथि राख्छ उसले बोल्दा राम्रो बोल्नुपर्छ वा चुप लागेर बस्नुपर्छ । त्यसैले अब हामी सबैले सबैसँग मिठो र सत्य बोल्नुपर्छ र आफ्नो बोलीले कसैलाई दुख दिनुहुदैन ।
